चरिकोट, ३० भदौ । जिल्ला सदरमुकाम चरिकोट बजारमा खसीको मासुको मूल्य वृद्धि भएको गुनासो बढेपछि दोलखा उद्योग वाणिज्य संघले मासु व्यवसायीहरूसँग छलफल गरी मूल्य समायोजन गरेको छ ।
संघले मंगलबार चरिकोट बजारका मासु व्यवसायीसँग छलफल गरेपछि बुधबारदेखि लागू हुने गरी भाग लगाएको खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ५० रुपैयाँ कायम गरेको छ । यसअघि प्रतिकिलो १ हजार २ सय रुपैयाँमा बिक्री हुँदै आएको भाग लगाएको मासुको मूल्य १ सय ५० रुपैयाँले घटाइएको हो । त्यसैगरी छानेर लगेको कोल्ड स्टोरको मासुको मूल्य प्रतिकिलो १ हजार ५ सय रुपैयाँबाट घटाएर १ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।
चरिकोट बजारमा यही भदौ २८ गते तीजको दर खाने दिनदेखि खसीको मासुको मूल्य बढाइएको थियो । असारसम्म प्रतिकिलो ८ सय रुपैयाँमा कारोबार हुँदै आएको भाग लगाएको खसीको मासु त्यसपछि ९ सय रुपैयाँ पुगेको थियो । भदौ २७ गतेसम्म प्रतिकिलो १ हजार रुपैयाँमा कारोबार हुँदै आएको मासुको मूल्य त्यसपछि एकैपटक १ हजार २ सय रुपैयाँ पुगेको थियो ।
दोलखामा खसीको मासुको मूल्य लगातार बढ्नुमा राजधानी काठमाडौंलगायतका बजारबाट गाउँगाउँ पुग्ने बिचौलिया व्यापारीहरूको अस्वस्थ कारोबार मुख्य कारण रहेको आम गुनासो छ । स्थानीय किसानबाट खसी खरिद गर्ने क्रममा बिचौलियाबीच हुने प्रतिस्पर्धाका कारण खरिद मूल्य बढ्ने र त्यसको प्रत्यक्ष प्रभाव मासुको मूल्यमा पर्ने गरेको स्थानीयको भनाइ छ ।
हाल जिल्लाका ग्रामीण बजार तथा गाउँगाउँमा समेत खसीको मासुको मूल्य प्रतिकिलो १ हजार रुपैयाँसम्म पुगिसकेको छ । स्थानीय उत्पादन जिल्लामै खपत हुने अवस्थामा समेत मूल्य निरन्तर बढ्दै गएपछि उपभोक्ताले मूल्य नियन्त्रण तथा बजार अनुगमन प्रभावकारी बनाउन माग गरेका छन् ।
मासुको मूल्य समायोजनसम्बन्धी छलफलमा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती, सचिव प्रबिन श्रेष्ठलगायत चरिकोट बजारका स्थानीय मासु व्यवसायीहरूको सहभागिता रहेको थियो । संघले व्यवसायी र उपभोक्ता दुवैको हितलाई ध्यानमा राख्दै बजारमा मासुको मूल्यलाई व्यवस्थित र सन्तुलित बनाउन व्यवसायीसँग छलफल गरी नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ ।


