चरिकोट, २८ कार्तिक । नेपाली काङ्ग्रेसको देउवा पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत दोलखा जिल्ला अधिवेशन सुरु गरेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा आयोजित अधिवेशनको उद्घाटन काङ्ग्रेस देउवा पक्षको महाधिवेशन आयोजक समितिका संयोजक शशांक कोइरालाले गरेका हुन् ।
उद्घाटन समारोहमा काङ्ग्रेसका केन्द्रीय नेताहरू एनपी साउद, मोहन बस्नेत, कुन्दनराज काफ्ले लगायत विभिन्न प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागिता थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेताहरूले आफूहरू नै नेपाली काङ्ग्रेसको आधिकारिक पक्ष भएको दाबी गरेका छन् । नेता मोहन बस्नेतले अदालतले आफूहरूलाई निस्सा दिएको उल्लेख गर्दै त्यसलाई आधिकारिकताको सङ्केतका रूपमा व्याख्या गरे ।
यद्यपि, नेताहरूले पार्टीभित्रको विवादलाई लम्ब्याउनुभन्दा दुवै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । गगन थापा पक्षका नेताहरूलाई एकतामा आउन आह्वान गर्दै उनीहरूले दुवै पक्ष मिलेर अघि बढे मात्रै देश र लोकतन्त्रको हित हुने धारणा राखेका थिए ।
नेपाली काङ्ग्रेस दोलखाका पूर्वसभापति ताराबहादुर कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा केन्द्रमा पार्टीभित्र जे अवस्था रहे पनि दोलखामा दुवै पक्षलाई मिलाएर निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लामा पार्टी एकता कायम गरेर अघि बढ्ने ठोकुवा गरेका थिए ।
कार्यक्रममा नेताहरूले वर्तमान सरकार निरंकुशता र अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै सरकारबाट परिवर्तन र सुशासनको अपेक्षा गर्न नसकिने टिप्पणी गरे । पुराना राजनीतिक शक्तिहरू पनि विगतमा कतिपय ठाउँमा चुकेको स्वीकार गर्दै उनीहरूले आफ्ना कमजोरी सुधारेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच, नेता कुन्दनराज काफ्लेले सांसद पदबाट राजीनामा दिएको विषयमा दोलखाली जनतासँग माफी मागेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट उम्मेदवार बन्ने तयारीसहित बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका काफ्लेले अन्तिम समयमा प्रतिनिधिसभाको टिकट पाउन सकेका थिएनन् ।

देउवा पक्षको यस जिल्ला अधिवेशनले नेपाली काङ्ग्रेस दोलखाको नयाँ जिल्ला नेतृत्व चयन गर्नेछ । सभापति पदमा भने जिल्ला अधिवेशन आयोजक समितिका संयोजक तारा कुमार खड्का निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदाधिकारी र सदस्य लगायतका पदहरू छलफलबाट आइतबारसम्म टुङ्गो लगाउने आयोजक समितिका लाल बहादुर तामाङले जनतापेजलाई जानकारी दिए । पार्टीभित्र आधिकारिकताको विवाद र विभाजन कायम रहेकै अवस्थामा सुरु भएको अधिवेशनलाई जिल्लामा देउवा पक्षको सङ्गठनात्मक गतिविधि र नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।


