दोलखा, १५ असार । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ बन्चरे नजिकै पार्किङ गरि राखिएको यात्रुबाहक बसका सहचालक सोही बसमा मृत भेटिएका छन् ।
बिहिबार सिङ्गटीमा यात्रु ओरालेर पुन बन्चरे आई बजार नजिकै पार्किङ गरिराखिएको बा ३ ख ८३९ नम्बरको यात्रुबाहक बसका सहचालक दोलखाको गौरीशङ्कर गाउँपालिका ३ महताराका अन्दाजी ४०–४५ वर्षका नारायणबहादुर खत्री मृत भेटिएका हुन् । शुक्रबार सबेरै पैदल यात्रुले गाडीको ढोका खुल्ला भई तलपट्टी टाउको र माथिपट्टी खुट्टा भएको अवस्थामा खत्रीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउकोमा चोट लाग्नुका साथै रगत बगेको देखिएपछि घटना शंकास्पद भएको भन्दै मृतकका आफन्त र स्थानीयले चरिकोट–सिङ्गटी सडक अवरुद्ध पारेका छन् भने घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै शव समेत उठाउन दिएका छैनन् । प्रहरीले सोही गाडीका चालक सहित अन्य तीन जनालाई घटनास्थल भन्दा अन्यत्रैबाट नियन्त्रणमा लिएको छ ।
चरिकोट सिङ्गटी सडकको बन्चरे नजिकै चिउरीबोट भन्ने स्थानमा वर्षाका कारण दिनहुँ सडक अवरुद्ध हुने भएपछि राजधानी काठमाण्डौ लगायतका स्थानबाट सिङ्गटीसम्म आउने यात्रुबाहक बसहरु सिङ्गटीमा यात्रु ओरालेर पुन बन्चरे बजार आएर बास बस्ने गरेका छन् । स्थानीयका अनुसार बिहिबार बेलुका सँगै खानपिन गरेका गाडीका चार जना स्टाफ मध्ये एक जना मात्रै गाडीमै मृत भेटिनु, मृतकको शरिरमा चोटपटक देखिनुका साथै रगत बग्नु, बाँकी ३ जनालाई अन्य स्थानबाट पक्राउ गरिनु, बन्चरे बजारमै पार्किङ नगरी एकान्तजस्तो ठाउँमा लगेर पार्किङ गरिनु जस्ता कारणले घटना शंकास्पद देखिएकोले निष्पक्ष छानविनको माग गरिएको हो ।