दोलखा, १५ असार । दोलखाको मेलुङ गाउपालिका वडा नम्बर १ पवटी स्थित स्वास्थ्य चौकी नयाँ भवन सहित स्थानान्तरण भएको छ । साविक पवटी गाविस वडा नम्बर ४ स्थित टारको पाखा (रमाईलो चोक)मा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकी साविक पवटी ८ स्थित दुबिनी डाँडामा निर्मित नयाँ भवनमा सरेको हो ।

नवनिर्मित स्वास्थ्य चौकी भवनको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले शुक्रबार एक समारोहका बीच उद्घाटन गरे । २०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षती पुर्याएपछि स्वास्थ्य चौकी प्रिफ्याबबाट निर्मित अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको थियो । एसियाली विकास बैङ्कले २ करोड ५० लाख रकम उपलब्ध गराएपछि स्थानीय स्तरमै जग्गाको व्यवस्थापन गरी सात कोठे नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित स्वास्थ्य चौकी भवन रमाईलो चोकबाट करिव १ किलोमिटर टाढा पर्दछ ।

मेलुङ गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ईश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन समारोहको अवसरमा स्वास्थ्य चौकी भवन निर्माणका लागि झण्डै ३ रोपनी जग्गा दान गर्ने कृष्ण प्रसाद कोइराला, डिल्ली प्रसाद कोइराला र प्रेम कुमार बस्नेत तथा स्वास्थ्य चौकीका पूर्व इन्चार्ज कपिलमणी न्यौपानेलाई सम्मान गरिएको छ । सोही अवसरमा पवटी स्वास्थ्य चौकी अन्तर्गत ६० वर्ष उमेर पूरा भएका १६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विदाई तथा उनीहरुको स्थानमा भर्ना भएका नयाँ स्वयंसेविकालाई स्वागत पनि गरिएको थियो ।


कार्यक्रममा मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईं, राजनीतिक दलका स्थानीय नेताहरु साथै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


