दोलखा, १९ साउन । दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ४ जना बेपत्ता भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ७ मार्बु र वडा नम्बर ८ खारे किो सिमानामा पर्ने टोपाटार भन्ने स्थानमा झरेको पहिरोले आधा दर्जन घर बगाउँदा स्थानीय ५४ वर्षका कृष्ण बहादुर मगर, उनकी श्रीमती अन्दाजी ५३–५४ वर्षकी देव मगर, सोही हाराहारी उमेरका हरिलाल श्रेष्ठ र ३ वर्षका बालक प्रिन्स थामी बेपत्ता भएका हुन् । पहिरोमा परेका स्थानीय यज्ञ थामी, उनकी श्रीमती र अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको गौरीशङ्कर ७ का वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।
खारेको सल्ले भन्ने स्थानबाट झरेको पहिरोले मार्बुको टोपाटारमा क्षती पुर्याएको हो । पहिरोले टोपाटारमा रहेको पुल समेत बगाएको छ । बेपत्ता भएकाहरुको अहिले स्थानीय र प्रहरी मिलेर खोजिकार्य जारी राखेका छन् भने घाइतेहरुलाई उपचारका लागि राजधानी पठाउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । (तस्वीर दिनेश गुरुङको फेसबुक वालबाट ।)