दोलखा, १७ मंसिर । दोलखाको तामाकोशी गाउँपालिकामा शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकले लागेर मृत्यु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर २ झुले स्थित डाँडाबारी जङ्गलमा शनिबार राती साथीसँगै शिकार खेल्न गएका सोही स्थानका २० वर्षिय सञ्जीव सार्कीको मृत्यु भएको हो । शिकार खेल्ने क्रममा सार्की आफैले बोकेको भरुवा बन्दुक एक्काशी फायर हुँदा उनको देब्रे छातीमा लागेको थियो । बन्दुकको छर्रा लागेर घाइते भएका उनको तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृती अस्पताल ल्याइएकोमा चिकित्सकहरुले तत्कालै उनलाई मृत घोषित गरेका थिए ।
सार्कीसँगै शिकार खेल्न गएका अन्य ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तामाकोशी २ का अविदित कार्की, तामाकोशी ३ का सञ्जीव पोखरेल, माधव पोखरेल, कृष्ण नेपाली, सुमन तोलाङ्गी र रचेस मुग्राती रहेका छन् । घटनाका सम्बन्धमा थप अनुषन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेशकुमार यादवले जनतापेजलाई जानकारी दिए ।