भक्तपुर, ३२ जेठ । गत वर्षको चैत्र महिनामा भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असारको दोस्रो साता भित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले असार दोस्रो साता भित्र नतिजा प्रकाशन गर्नेगरी आवश्यक तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बोर्डको कार्ययोजना अनुसार असारको दोस्रो साताभित्र नतिजा प्रकाशन गर्नेगरी तीव्र रुपमा काम भइरहेको बताउनुभयो । उहाँका अनुसार उत्तर पुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिइसकेको छ । यस पटक ५२ ओटा केन्द्रबाट एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षण भएको थियो ।


बोर्डका अनुसार यस वर्षको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक–फरक रुपमा प्रकाशन गरिनेछ । जसअनुसार परीक्षार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात २७ अङ्क अनिवार्य रुपमा ल्याउनै पर्ने नत्र ननग्रेड अर्थात फेल भए सरह मानिनेछ । गत चैत्र १५ देखि सुरु भएको एसइई परीक्षामा पौने पाँच लाख विद्यार्थी सहभागि भएका थिए ।
