सिङ्गटी, २९ फागुन । नेकपा माओवादी केन्द्र कालिन्चोक गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ ।
उक्त पार्टीको बिहिबार सम्पन्न पालिका सम्मेलनले भक्त शिवाकोटीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पालिका कमिटीको उपाध्यक्षमा छत्र बहादुर कार्की, कर्ण थामी र कृष्ण पाख्रिन चयन भएका छन् । यस्तै कमिटीको सहसचिवमा लोक बहादुर कार्की र चन्द्र नेपाली तथा कोषाध्यक्षमा मालती थामीलाई चयन गरिएको छ । कमिटीको सचिव भने पछि चयन गरिने जनाइएको छ । सम्मेलनले पार्टीको कालिञ्चोक गाउँपालिका ईञ्चार्जको जिम्मेवारी राम पाण्डे र सहईञ्चार्जको जिम्मेवारी चन्द्र लामालाई तोकेको छ ।


नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका कमिटीका निवर्तमान अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा सम्पन्न सम्मेलनको सो पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्धघाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले, “माओवादी मात्रै यस्तो पार्टी हो, जसले भ्रष्टचारको अन्त्य गर्दै देशमा सुशासन कायम राख्न सक्दछ,” भने । भ्रष्टचारका फाइलहरु धमाधम खुल्न थालेपछि अनेक बहानाबाजी र तिकडम गरेर माओवादी नेतृत्वको सरकार ढालिएको भन्दै उनले अहिलेको केपी ओली नेतृत्वको सरकारबाट सुशासनको अपेक्षा गर्नु बेकार भएको दावी गरे ।
सम्मेलनको उद्घाटन सत्रलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला ईञ्चार्ज विशाल खड्का, केन्द्रीय सदस्यहरु नर बहादुर पाख्रिन र शङ्कर लामा, जिल्ला संयोजक कमल श्रेष्ठ ज्योती, माओवादी नेता एवम् कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, नेताहरु अर्जुन योगी, रिता रिमाल, चुनबहादुर थामी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
