स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप पालिका हाम्रो प्रतिवद्दता भन्ने मूल नाराका साथ राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत मेलुङ गाउँपालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सम्पन्न भएको छ ।
मेलुङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा संचालन भएको कार्यक्रम मेलुङ गाउँपालिकाका अध्यक्ष एवम पालिक खोप समन्वय समितिका संयोजक हिरा कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । मेलुङ गाउँपालिका अन्तर्गतका सात वटै वडामा रहेका जन्मे देखि पन्ध्र महिना र सोह्र महिना देखि उनान्साठी महिना उमेरका सबै बालबालिकाले यस वर्ष लगाउनु पर्ने नियमित खोपको सम्पूर्ण मात्र पूरा भएको र आगामी दिनमा पनि उक्त खोप कार्यक्रमलाई नियमित दीगोपना दिने प्रतिवद्दता सहित मेलुङ गाउँपालिकालाई पूर्ण खोप मुक्त गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाले गाउँपालिका मातहतका सात वटै वडालाई र जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाले मेलुङ गाउपालिकालाई खोप सुनिश्चितता प्रमाणिकरण प्रमाण पत्र प्रदान गरेको छ । हरेक बालबालिकाको स्वस्थ्य भएर बाँच्न र खोप सेवा लिन पाउने संविधानत नैसर्गिक अधिकार भएको र बालबालिकाहरुले आफ्नो स्थानीय तहबाटै आधारभूत स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितता गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्दता कार्यान्वयन गर्न देशव्यापी रुपमा सबै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा खोप दीगोपना कार्यक्रम संचालन गरेको छ ।


देशका सबै स्थानीय तहबाट सेवा प्रदान गर्दा पनि असी प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप लिएका, सोह्र प्रतिशतले आंशिक खोप लगाएका र चार प्रतिशतले कुनै पनि खोप नलगाएको तथ्यांक सार्वजनिक भएपछि सत प्रतिशत बालबालिकालाई खोप सेवा उपलब्ध गराउन यो अभियान सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दोलाखाका प्रमुख एवम जिल्ला स्तरीय खोप समन्वय समितिका सदस्य सचिव उत्तमराज खनालले बताउनु भयो ।
मेलुङ गाउँपालिका भित्रका वडा अध्यक्ष ,वडा सदस्य,,स्वास्थ्य चौकी प्रमुख, महिला स्वयंसेविका, स्थानीय सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा मेलुङ गाउँपालिकाको उपाध्यक्ष गायत्री आचार्य, दोलखा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख उत्तमराज खनाल, वडा नम्बर एकका वडा अध्यक्ष एवम सामाजिक विकास संयोजक ईश्वर कोइराला, मेलुङ स्वास्थ्य शाखाका प्रमुख हरिराम चापागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुको साथै खोपको औचित्य र गाउँपालिकालाई पूर्ण खोप मुक्त घोषणा गरे सँगै आउँदा दिनहरुमा खोपलाई निरन्तरता दिनु सबैको मुख्य दायित्व रहेको धारणा व्यक्त गरेका थिए ।
