चरीकोट, २० पौष । नेकपा एमाले दोलखाले आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेद्वार बन्न नेता पार्वत गुरूङको एकल नाम केन्द्रमा सिफारिस गरेपछि एमाले दोलखामा लफडा सुरू भएको छ ।
एकल नाम सिफारिसका नाममा आफूहरूलाई पाखा लगाइएको भन्दै असन्तुष्ट पक्षले आइतबार पत्रकार सम्मेलन गरेर सर्वसहमतिका नाममा दादागिरी देखाएको आरोप लगाएको छ । खासगरी नेता बालकृष्ण शिवाकोटी पक्षले पत्रकार सम्मेलन मार्फत सुनियोजित रूपमा गुरूङलाई एकल र मूख्य उम्मेद्वारका रूपमा सिफारिस गरिएको भन्दै आपत्ती मात्रै जनाएन, एमाले दोलखाका उपसचिव हरि ओली सहित दर्जन बढी नेताहरूले राजीनामा नै दिएका छन् ।
राजीनामा दिनेहरूमा ओली सहित सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा कमिटीका संयोजक इश्वरी प्रसाद दाहाल, जिल्ला कमिटी सदस्यहरु श्यामसुन्दर शिवाकोटी, निल कुमार खुलाल, राधा चापागाईं खड्का, इन्द्र बहादुर थामी, रमा शिवाकोटी, सविना केसी, कुमार बस्नेत, प्रलाद लामिछाने र विक्रम खड्का लगायत रहेका छन् । त्यस्तै नेकपा एमाले कालिन्चोक गाउँपालिकाका कार्यबाहक अध्यक्ष गणेश बहादुर शिवाकोटी, सचिव सुवास थामी लगायत दोलखा काठमाडौं सम्पर्क कमिटीमा आवद्ध विभिन्न तहका नेताहरूले पनि राजीनामा गरेका छन् । राजीनामा दिँदै ओलीले पदीय जिम्मेवारीबाट राजीनामा दिए पनि पार्टी भने नछोडेको र नछाड्ने पनि बताएका छन् ।



यता एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले भने सर्वसम्मत रूपमा नेता गुरूङलाई एकल र प्रमुख उम्मेद्वारका रूपमा सिफारिस गरिएको दावी गरेका छन् । शिवाकोटीले पत्रकार सम्मेलन गरेर असन्तुष्टि व्यक्त गर्ने वित्तिकै आफूले पनि पत्रकार सम्मेलन गर्दै अध्यक्ष श्रेष्ठले अहिलेको विषम परिस्थितीमा गुरूङ नै योग्य भएको भन्दै जिल्ला कमिटीको बहुमत निर्णयले उनको नाम सिफारिस गरेको जिकिर गरे । पार्टीको आधिकारिक उम्मेद्वार गुरूङ मात्रै भएकाले जिल्ला कमिटीको धारणा विरूद्ध सडक, होटल, चियापसल, चौतारा र सामाजिक सञ्जालमा बोलिने र लेखिने धारणाको भ्रममा नपर्न आग्रह समेत गरे । यद्यपी इच्छुकहरूको नाम भने केन्द्र र प्रदेशमा पठाइने तर हालका लागि गुरूङ एकल उम्मेद्वार रहने श्रेष्ठको भनाइ छ । उनका अनुसार शिवाकोटी सहित रचना खड्का, डबल पाण्डे, श्याम बस्नेत लगायतको नाम इच्छुक उम्मेद्वारको रूपमा पठाइनेछ ।




