चरिकोट, साउन ९ । दोलखाको मेलुङ गाउँपालिकाले उद्यमशील कृषकलाई प्रोत्साहन गर्ने अभियान अन्तर्गत गाउँपालिकाको वडा नं. २ बाँसबोटेकी कृषक सम्झना खड्कालाई खुर्सानी तथा निउरो सुकाउने र प्याकिङ गर्ने मेसिन हस्तान्तरण गरेको छ ।
बाँसबोटे नर्सरी तथा तरकारी फर्म सञ्चालन गर्दै आएकी कृषक खड्कालाई कृषि उत्पादनको प्रशोधन तथा बजारीकरणलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
मेसिन हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हिराकुमार तामाङले कृषक खड्काले कृषि पेसाप्रति देखाएको लगनशीलता, धैर्यता र निरन्तरको मेहनतको कदरस्वरूप गाउँपालिकाले सहयोग उपलब्ध गराएको बताए ।
“आफ्नै गाउँमा बसेर कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिक रूपमा अगाडि बढाउने कृषकहरूलाई स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्छ,” अध्यक्ष तामाङले भने, “समृद्ध मेलुङ निर्माणका लागि उद्यमशील कृषकहरूको भूमिका महत्वपूर्ण भएकाले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”

गाउँपालिकाका अनुसार उक्त मेसिन ८० प्रतिशत गाउँपालिकाको तथा २० प्रतिशत कृषकको लागत साझेदारीमा खरिद गरिएको हो । स्थानीय तहले उत्पादनसँगै प्रशोधन र मूल्य अभिवृद्धिमा जोड दिँदै कृषकलाई आत्मनिर्भर बनाउने नीति अनुरूप सहयोग प्रदान गर्दै आएको जनाएको छ ।
मेसिन हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, वडा नं. २ का वडाध्यक्ष रामकृष्ण भण्डारी, गाउँपालिकाका कर्मचारी तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो ।
मेलुङ गाउँपालिकाले विगतदेखि नै कृषि तथा पशुपालन क्षेत्रमा संलग्न कृषकहरूलाई विभिन्न अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै कृषि क्षेत्रलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित गाउँपालिकाले समय–समयमा यस्ता सहयोग कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।
स्थानीय सरकारको यस पहलले कृषि पेसाप्रति युवाहरूको आकर्षण बढाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।


